NM Khabar 23 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनकपुरमा सडकको बिचमै २ फिटको नाला खुला, दुर्घटनाको चिन्ता

जनकपुरधाम-९ रामानन्द चोक सडकखण्डमा ढल निर्माणपछि सडकको बीचमै करिब २ फिट गहिरो नाला खुला छ। स्थानीयले ठेकदार र सरकारी कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम भएको र यसले दुर्घटनाको जोखिम बढाएको आरोप लगाएका छन्। मधेस सरकारको पूर्वाधार मन्त्रालयले ३० लाख बजेटमा आह्वान गरेको उक्त ठेक्का स्थानीय मानवी कन्स्ट्रक्सनले १०-१२ दिनमै सम्पन्न गरेको थियो।
Kamala Devi
Kamala Devi
22 July 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
जनकपुर सडक नाला
Share:

जनकपुरधाम । जनकपुरधाम-९ रामानन्द चोक सडकखण्डमा ढल निर्माण सकिए पनि सडकको बीच भागमा करिब २ फिट गहिरो नाला खुला छ। यसले पैदलयात्रु र सवारीसाधनलाई दुर्घटनाको जोखिममा पारेको भन्दै स्थानीय आक्रोशित छन्।

ठेकेदारले नालाको च्याम्बरमाथिको ढक्कन हाल्न आलटाल गर्दा दैनिक दुर्घटनाको जोखिम बढेको छ। रामानन्द चोकदेखि सङ्कटमोचन मन्दिर, देवी चोक हुँदै रेल्वे स्टेशनसम्म यो बाटो भएर दैनिक सयौँ जिप, ई–रिक्सा र मोटरसाइकल आवतजावत गर्छन्।

सडकको बीच भागमा करिब १ मिटर लामो, आधा मिटर चौडा र २ फिट गहिरो खाल्डो खुला छ। ढक्कन नहुँदा पैदलयात्रु र सवारीसाधनलाई मात्र अप्ठ्यारो छैन, दुर्घटनाको जोखिम पनि बढेको छ। मोटरसाइकल त जेनतेन वारपार गर्छन्, तर ईरिक्सा र जिप, कारलाई निकै सकस हुने गरेको छ।

स्थानीय अनिल झाले बजेट सक्न हतारमा विकास निर्माण गराउँदा यस्तो परिणाम आएको बताए। ‘ठेकदारले रकम बुझिसक्यो, अब उसलाई के मतलब भयो? सास्ती त जनताले भोग्ने हो,’ उनले भने। उनले ठेकदार र पूर्वाधार विकास कार्यालयको मिलेमतोमा जनताले दुःख पाउने गरेको आरोप लगाए। ठेकदार र कार्यालयका साइट इन्जिनियर ज्योति साहसँग बुझ्न खोज्दा उनी सम्पर्कमा नआएको झाले बताए।

यो सडकखण्डमा माध्यमिक विद्यालय र अस्पतालको मुख्य द्वार पर्छ। सयौँ विद्यार्थी यही सडक भएर विद्यालय आउजाउ गर्छन्।

स्थानीय संजीव कर्णका अनुसार एक हप्ताअघि वर्षा भइरहेका बेला पानीले ढाकिएको उक्त खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो। ‘राति बत्ती थिएन, एक्कासि मोटरसाइकल पल्टियो तर चालक सडकतिर उछिट्टिएका कारण बाँच्न सफल भए,’ उनले भने।

वडाध्यक्ष परमेश्वर साहले ठेकदारलाई फोन गर्दा नउठाएको गुनासो गरे। ‘यो विकास निर्माणको नाममा सरासर जनताको साथ ठुलो खेलवाड भएको छ। सम्बन्धित कार्यालयको बदमासी हो,’ उनले भने, ‘यसलाई नसच्याउने हो भने जनताको दबाब मैले पनि थेग्न सक्ने छैन।’

किराना पसल सञ्चालक तपेश्वर साहले स्थानीय एकजुट नहुँदाको परिणाम भएको बताए। ‘पक्की सडक उप्काएर ढल निकासको नाममा ग्राभेल हालेर सडकको अवस्था यस्तो बनाइयो। मुख्य सडकको बीच भागको च्याम्बरमा दायाँबायाँ ढक्कन नहाल्दै ठेकदारलाई निकासा दिनु लापरवाहीको नमुना हो,’ उनले भने।

मधेस सरकारको पूर्वाधार मन्त्रालयमार्फत १६७ मिटर लम्बाइको ढल निकासी तथा सडक साइड चेम्बर निर्माणका लागि गत जेठमा टेन्डर आह्वान गरिएको थियो। ई–बिडिङ मार्फत आह्वान गरिएको यो कामको ठेक्का स्थानीय मानवी कन्स्ट्रक्सनले पाएको थियो। आर्थिक वर्ष सकिनु एक साताअघिबाट काम थालेको कन्स्ट्रक्सनले १०/१२ दिनमै काम सम्पन्न गरेको थियो।

कन्स्ट्रक्सनका म्यानेजर विपिन महरा र पूर्वाधार विकास कार्यालयका साइट इन्जिनियर ज्योति साह दुवै सम्पर्कमा आउन चाहेनन्। स्थानीय अनिल झाले साइट इन्जिनियर फिल्डमा नआई कार्यालयमै बसेर मूल्याङ्कन गर्ने र बजेट निकासा गर्ने गरेको आरोप लगाए।

पूर्वाधार मन्त्रालयले यो सडकको ढल निकासीका लागि ३० लाख बजेट छुट्ट्याएको थियो। सोही ठेक्का मार्फत काम आधाअधुरा छोडेर ठेकदार पन्छिएको अवस्था छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार