फिफा विश्वकप सुरु भएयता नेपाल दूरसञ्चार प्राधिकरणले २ लाख २३ हजार ५६८ अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार गर्ने वेबसाइट तथा एप बन्द गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस विषयमा विशेष चासो देखाएपछि प्राधिकरणले कारबाहीलाई तीव्रता दिएको हो।
सरकारले गत चैत १३ गते शासकीय सुधारसम्बन्धी कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी रोकथामलाई ४२औँ बुँदामा समेटेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घण्टाभित्र यस्ता एप र वेबसाइट बन्द गर्न निर्देशन दिएको थियो।
विश्वकपका बेला बेटिङ एपको प्रयोग बढ्ने सम्भावना देखेर प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरेको छ। सहायक निर्देशक ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखी वेबसाइटहरू बन्द गर्ने काम गरिएको थियो।
आईएसपीको सहकार्यमा यस्ता वेबसाइटका यूआरएललाई ब्लक गरिन्छ। महतोले एउटा बन्द गर्दा अर्को खुल्ने चुनौती रहेको बताए। यसका लागि ‘थ्रेड इन्टेलिजेन्स टुल’ प्रयोग गरेर निरन्तर अनुगमन र कारबाही भइरहेको छ। यसका लागि छुट्टै जनशक्ति पनि व्यवस्था गरिएको छ।
प्राधिकरणले यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भएमा github.com/NTA-OPM मा अपडेट गर्न सर्वसाधारणलाई आह्वान गरेको छ।
