विश्वव्यापी प्रविधि कम्पनी माइक्रोसफ्टका आउटलुक र टिम्स लगायतका सेवाहरू बिहीबार साँझदेखि विश्वभर ठप्प भएका छन्। यो अवरोधले युरोपेली स्टक बजार सञ्चालक युरोनेक्स्ट र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई समेत प्रभावित पारेको छ।
बिहीबार साँझ ४ बजे (जीएमटी) बाट सुरु भएको यो समस्याले माइक्रोसफ्ट आउटलुक, टिम्स र अन्य माइक्रोसफ्ट ३६५ सेवाहरूलाई विश्वव्यापी रूपमा प्रभावित पारेको थियो। डाउनडिटेक्टरका अनुसार, ७४ देश र क्षेत्रका प्रयोगकर्ताहरूले सेवामा पहुँच नभएको रिपोर्ट गरेका छन्।
युरोपेली स्टक बजार सञ्चालक युरोनेक्स्टले शुक्रबार बिहान सूचीबद्ध कम्पनीहरूलाई कर्पोरेट जानकारीका लागि टेलिफोन प्रयोग गर्न सल्लाह दिएको छ। कम्पनीले इमेल सञ्चारमा अवरोध आएको भन्दै अत्यावश्यक कार्यका लागि फोन प्रयोग गर्न आग्रह गरेको हो। युरोनेक्स्टले पेरिस, ब्रसेल्स, लिस्बन, एम्स्टर्डम, ओस्लो, एथेन्स र मिलानमा एक्सचेन्ज सञ्चालन गर्छ।
यसैगरी, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले पनि आईटी अवरोधका कारण कागजमा रेकर्ड राख्न थालेको छ। एनएचएसले बिरामीहरूलाई आवश्यक परेमा ९९९ वा १११ मा फोन गर्न र निर्धारित भेटघाटमा सहभागी हुन आग्रह गरेको छ। अल जजीरा संवाददाता सोनिया गालेगोले लन्डनबाट रिपोर्ट गर्दै डाक्टरहरूले बिरामीहरूसँग फोनमा कुरा गर्नुपरेको बताएकी छन्।
माइक्रोसफ्टले सर्भरहरू ‘अप्रत्याशित रूपमा अनुपलब्ध’ भएपछि ‘उच्च लोड’ का कारण समस्या आएको जनाएको छ। कम्पनीले साइबर आक्रमणको कुनै संकेत नभएको स्पष्ट पारेको छ। प्रविधि विश्लेषक तथा पत्रकार रुपर्ट गुडविन्सले अल जजीरासँग कुरा गर्दै यो ‘माइक्रोसफ्टका लागि निकै अप्ठ्यारो र हामी सबैका लागि साँच्चै दिक्क लाग्दो’ भएको बताएका छन्।
माइक्रोसफ्टले सेवाहरू पूर्ववत् सञ्चालन गर्न संघर्ष गरिरहेको बताएको छ।