मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय रमेश बडुवालको मृत्यु भएको छ। घटनामा उनका बुबा जगनाथ र आमा सृजना बडुवाल घाइते भएका छन्।
शनिबार बिहान करिब ४:०० बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरिरहेका बडुवाल परिवार सुतिरहेको अवस्थामा पहिरो घरमा पसेको थियो। छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ, २७ वर्षीया सृजना र ३ वर्षीय छोरा रमेश पहिरोमा च्यापिएका थिए।
प्रहरी चौकी डोल्फु पुलुको टोलीले ३ वर्षीय रमेशलाई उद्धार गरेको थियो। बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याइए पनि ५:४५ बजे चिकित्सकले मृत घोषणा गरे।
जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।
पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थप जोखिमका कारण आसपासका आठ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
