एमाले र नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमतिपत्रअनुसार प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँट तथा राजनीतिक सहकार्यमा समझदारी भएको हो।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ।
मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गरिनेछ।
विगतमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनता तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्या समाधान गर्दै जनचाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र द्रुत विकासलाई अघि बढाउने उद्देश्यले यो सहमति गरिएको हो।
शनिबारको सहमतिपत्रमा ओली र दाहालले हस्ताक्षर गरेका छन्। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र नेकपा नेता वर्षमान पुनको रोहवरमा यो सहमति भएको थियो।
