शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको समन्वयमा वार्तामार्फत समाधान खोज्न सचिव पौडेल शनिबार धनगढी पुगेका थिए । उनले डा. केसी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए ।
सो क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको थियो । सचिव पौडेलले आइतबार डा. केसीले उठाएका मागबारे औपचारिक संवाद हुने बताए ।
“आज डा. केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ,” सचिव पौडेलले भने ।
सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक समाधान खोज्ने उनको भनाइ थियो ।
डा. केसी पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा छन् । स्वास्थ्य समस्या आएपछि अनशनस्थल कृष्ण मन्दिर धर्मशालाबाट शनिबारै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा. केसीसँग सचिव पौडेलसहित सामान्य संवाद र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।
