नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन गरिने भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्नेछन्।
उद्घाटनपश्चात् तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार उद्घाटनपछि केही समय परीक्षणात्मक सवारी सञ्चालन र प्राविधिक परीक्षण गरिनेछ। साउनको अन्तिम वा भदौ पहिलो सातादेखि भने सर्वसाधारणका लागि सुरुङमार्ग खुला गरिनेछ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए। परियोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिए पनि निर्माणका क्रममा भूगर्भीय समस्या र डिजाइन परिवर्तनले लागत बढेर २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
सुरुङमार्गबाट काठमाडौं भित्रिँदा २.८ किलोमिटर दूरी घट्नेछ। यसले काठमाडौं भित्रिँदा ३३ मिनेट र बाहिरिँदा २३ मिनेट यात्रा समय बचत गर्नेछ।
सुरुङमार्गभित्र सिसिक्यामेरा, फ्यान, फायर हाइड्रेन्ट र अलार्मलगायतका अत्याधुनिक सुरक्षा प्रविधि जडान गरिएको छ।
सुरुङमार्ग निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो। यसको सञ्चालनको ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाएको छ। परियोजनाको कुल लागत २८ अर्ब रुपैयाँ छ। यसमध्ये साढे २२ अर्ब रुपैयाँ जाइकाको ऋण लगानी हो भने बाँकी सरकारले लगानी गरेको छ।
