मोरङको रंगेलीमा एक बालिकालाई दुई फरक क्याफेमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
साउन ३ गते बिहान १८ वर्षीय सिटी चालक मोहम्मद अरमानले बालिकालाई रंगेली–३ को युमी क्याफेमा पुर्याएका थिए। त्यहाँ प्रलोभनमा पारी अरमानले बालिकामाथि करणी गरेको उजुरी छ। सोही क्याफेका सञ्चालक २१ वर्षीय सुमन कुमार साहले पनि बालिकामाथि करणी गरेको प्रहरीले जनाएको छ।
घटनाको भोलिपल्ट, साउन ४ गते राति अन्दाजी २१:०० बजे पीडित बालिकालाई रंगेली–७ का २० वर्षीय करण मण्डलले रंगेली–७ कै संसारी मन्दिर नजिकको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए। त्यहाँ मण्डलसहित १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवले सामूहिक करणी गरेको उजुरी परेको छ।
प्रहरीले साउन १० गते घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोहम्मद अरमान, सुमन कुमार साह, करण मण्डल, प्रियान्सु साह र रितिक यादव छन्। उनीहरू सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
