NM Khabar 27 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटना: सुरक्षा अधिकारीमाथि छानबिनको माग गर्दै सांसद साहले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप हुँदा एक जनाको मृत्यु र आठ घाइते भएका छन्। सांसद ई. दीपककुमार साहले सुरक्षा अधिकारीमाथि छानबिन र कारबाहीको माग गरेका छन्। गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 July 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना सुरक्षा छानबिन
Share:

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ। प्रतिनिधिसभा सदस्य ई. दीपककुमार साहले सोमबार गृह मन्त्री सुधन गुरुङलाई भेटेर साउन १० गते राति भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका हुन्।

बोलबम यात्राका क्रममा भएको सो झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। आठ जना घाइते भएका थिए। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सांसद साहले गृहमन्त्रीलाई बुझाएको पत्रमा घटनाले स्थानीय शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा गम्भीर असर पारेको उल्लेख गरेका छन्।

स्थानीय बासिन्दाहरूले घटना नियन्त्रणमा प्रशासन र सुरक्षा निकायले अपेक्षित भूमिका निर्वाह नगरेको गुनासो गरेको सांसद साहले बताए। उनले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी) तथा जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि निष्पक्ष छानबिन गरी आवश्यक देखिए निलम्बनसहित विभागीय कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, घटनाको सत्यतथ्य बाहिर ल्याउन, दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन, आवश्यक नीतिगत तथा संस्थागत सुधार गर्न र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न पनि माग गरिएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले घटनाको भर्त्सना गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। उनले सामान्य विवादमा छाती ताकेर गोली चलाइएको आरोप लगाएका छन्। रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियार र नेता वीरेन्द्र केएमले पनि गृहमन्त्री गुरुङलाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

गृहमन्त्री गुरुङले घटनालाई निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले घटनालाई राजनीतिक वा धार्मिक रूपमा उग्र बनाउने प्रयास स्वीकार्य नहुने र धार्मिक आवरणमा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। घटनापछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार