NM Khabar 27 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटना: प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको जिम्मेवारी खोस्यो

सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव बिथोलिएको घटनापछि गृह मन्त्रालयले सुरक्षा अधिकारीहरूको जिम्मेवारी खोसेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, डीआईजी विनोद घिमिरे, एसपी केशव थेवे र डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ। घटनाको छानबिन गर्न समिति गठन गरिएको छ र प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 July 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना सुरक्षा
Share:

सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव बिथोलिएको घटनाको जिम्मेवारी लिँदै गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको जिम्मेवारी खोसेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सो जिम्मेवारीमा खटाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। उनको ठाउँमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीमा खटाइएको छ।

सशस्त्र प्रहरी बल नेपालको कप्तानगञ्ज युनिटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।

घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार