राजर्षि जनक विश्वविद्यालयको जग्गा प्राप्ति र आफ्नै भवन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकता दिने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनकपुरमा विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा जग्गाको कानुनी प्रक्रिया छिटो टुङ्ग्याएर निर्माण सुरु गर्ने आश्वासन दिए।
विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा मन्त्री पोखरेलले विशेष चासो व्यक्त गरे। आफ्नै भवन नहुँदा विश्वविद्यालयले भोग्दै आएका कठिनाइ समाधानमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
भ्रमणका क्रममा मन्त्री पोखरेलले संकट मोचन विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरे। दुई महिनाअघिको भ्रमणमा विद्यार्थीले सामग्री अभावको गुनासो गरेका थिए। उनले क्रिकेट ब्याट, बल र फुटबल वितरण गरे। पूर्वप्रतिबद्धता अनुसार माग पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे।
मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छ। अभियानको प्रगति सन्तोषजनक रहेको मन्त्री पोखरेलले जानकारी दिए। यस विषयमा थप समन्वय गर्न प्रदेश प्रमुख र सम्बन्धित निकायका प्रमुखसँग छलफल गर्ने उनको योजना छ।
मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने मुख्य आरोपी पक्राउ परिसकेको बताए। संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे। शिक्षा क्षेत्रका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै सरकार अघि बढिरहेको उनको भनाइ छ।
