सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा आइतबार राति धार्मिक झण्डा विवादले उग्र रूप लिँदा प्रहरी गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको छ। सोमबार दिनभर जनजीवन त्रसित र तनावपूर्ण बन्यो। आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।
प्रशासनले कर्फ्यु जारी गर्दै नेपाली सेना परिचालन गरेको छ। गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित सुरक्षा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएर पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
आइतबार राति करिब ९ बजेतिर बोलबम यात्राको तयारीमा रहेको समूहले डीजे बजाएको विषयमा विवाद सुरु भएको थियो। एक समुदायको झण्डा हटाएर अर्को पक्षले आफ्नो झण्डा राखेपछि झडप हिंसात्मक बनेको थियो। प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा देवानगन्ज–४ का २५ वर्षीय मेहताको मृत्यु भयो।
घटनामा ९ सर्वसाधारण र १३ सुरक्षाकर्मीसहित २२ घाइते भएका छन्। धेरैको शरीरमा गोलीको चोट छ। सोमबार बिहानैदेखि प्रदर्शनकारी सडकमा उत्रिए। बिहान ७ बजेदेखि कप्तानगन्ज, हरिनगरा, भुटाहा र देवानगन्ज क्षेत्रमा कर्फ्यु जारी गरिए पनि उल्लंघन भयो।
आक्रोशित समूहले देवानगन्जमा घर, हार्डवेयर पसल र ट्याक्टरमा आगजनी गरे। कच्ची घर र दुई मोटरसाइकल पनि जले। बजारका सामान सडकमै जलाइएको थियो।
प्रदर्शन इनरुवासम्म पुग्यो। करिब १५० जनाको समूहले एक सर्वसाधारणमाथि कुटपिट गर्यो। बजाज शोरुम, म्याजिक गाडी र प्रहरी बिटमा तोडफोड भयो। पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परे।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र एसपी केशव थेबेलाई हटाएको छ। संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सुनसरीको सीडीओ बनाइएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
कप्तानगन्जमा प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन गरिएको छ। बख्तरबन्द गाडीसहित सेनाको उपस्थितिपछि प्रदर्शनकारी तितरबितर भए। तर त्रासको वातावरण अझै हटेको छैन।
विराटनगरका न्युरो, विराट नर्सिङ होम र नोबेल अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार धेरैको पेट, छाती र तिघ्रामा गोली लागेको छ।
साम्प्रदायिक तनाव मत्थर पार्न सर्वदलीय बैठक बस्यो। बैठकले सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्याउन अपिल गर्यो। देवानगन्ज गाउँपालिकाले घटनाको शोकमा दुई दिन सार्वजनिक बिदा दिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले दोषीलाई कानुनी कठघरामा ल्याउन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
