अर्थमन्त्री वाग्ले उद्योगीहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा आयोजना गरिएको ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’मा झन्डै तीन दर्जन प्रतिष्ठित उद्योगपतिहरूसँग छलफल गर्ने भएका छन्। नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा योगदान पुर्याउँदै आएका उद्योगीहरूसँग बजेटको प्रभावकारी कार्यान्वयन र औद्योगिक क्षेत्रका समसामयिक विषयमा केन्द्रित रहेर यो छलफल हुन लागेको हो।
यो अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेट ल्याएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग गर्न लागेको पहिलो भेटवार्ता हो। अर्थ मन्त्रालयका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ।
छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू सहभागी हुनेछन्।
पुँजीबजारको दिगो विकासका लागि धितोपत्र बोर्डलाई निर्देशन
यसैबीच, अर्थमन्त्री वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्। उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए।
बोर्डका अध्यक्ष डा गोपाल भट्टले पुँजीबजार विकासको ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिँदै चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिने बताए।
