कपिलवस्तुका किसान दुई सातादेखि रासायनिक मल नपाएर मारमा परेका छन्। वर्षा कम भएकाले चिन्तित किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मल वितरण रोकेपछि थप समस्या थपेको छ।
असार ३१ गतेयता कृषि सामग्री कम्पनी लिमिटेडका तौलिहवा र बहादुरगञ्ज शाखा तथा साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरबाट मल वितरण रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए। असार ३१ यता ती स्थानबाट मल वितरण भएको जानकारी प्राप्त नभएको उनले बताए।
मलको बिक्री र मौज्दातबारे तीनवटै स्थानले दैनिक समितिमा प्रतिवेदन बुझाउनुपर्छ। तर असार ३१ यता कुनै विवरण प्राप्त नभएको चौधरीले बताए। मल वितरण रोकिएपछि किसान चिन्तित बनेका छन्।
कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन १ गतेदेखि मल बिक्री रोकिएको बताए। सीमित मौज्दात भए पनि चालु आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नभएकाले समस्या आएको हो। कोटा निर्धारण पत्र पाएपछि करिब एक सातामा बिक्री सुरु हुने उनले जानकारी दिए।
साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका विजय अर्यालले सर्भर नचलेकाले साउन १ देखि मल बिक्री रोकिएको बताए। सर्भर सञ्चालनमा आएपछि बिक्री पुनः सुरु हुने उनले बताए।
मल व्यवस्थापन समितिका अनुसार जिल्लामा ८२५.४ मेट्रिक टन युरिया, २७९ मेट्रिक टन डीएपी र २८२.७५ मेट्रिक टन पोटास मौज्दात छ।
लुम्बिनी प्रदेशमै बढी धान खेती हुने कपिलवस्तुमा यस वर्ष मलखादको चरम अभाव छ। युरिया र डीएपी मलको अभावले किसान समस्यामा परेका छन्। धानबालीमा मल हाल्ने यो उपयुक्त समय हो। आवश्यक मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता किसानले व्यक्त गरेका छन्।
किसान बजार र कृषि सामग्री कम्पनीमा दैनिक धाउँछन्। रित्तो हात फर्किन बाध्य छन्। कृषि प्राविधिकका अनुसार धानमा युरिया हाल्ने यो उपयुक्त समय हो। मल नपाएपछि किसान भारतबाट लुकिछिपी मल ल्याउन बाध्य छन्। वर्षौंदेखि मलका लागि भारतकै भर पर्नुपरेको गुनासो छ। भारतीय सुरक्षा निकायले कडाइ गरेपछि मल ल्याउन झन् कठिन भएको छ।
कपिलवस्तु नगरपालिका–३ बरन्डीहवाका किसान राका यादवले युरिया मलका लागि एक महिनादेखि कृषि सामग्री कम्पनी धाए पनि नपाएको गुनासो गरे। कम्पनीले वडाको सहकारीमा जान भनेको र सहकारीले मल नभएको भन्दै फर्काएको उनले बताए। धान रोपाइँ सकेका उनले आवश्यक युरिया र डीएपी मल नपाउँदा चिन्तित छन्। “हामी किसानले मल, बीउ, सिँचाइ केही पाएनौँ। नेताले झुक्याउने काम मात्रै गरे,” उनले दुःखेसो पोखे।
भारतबाट किनेर ल्याई खेतमा प्रयोग गरेको उनले बताए। अभावको मौका छोपी केही व्यापारीले कालोबजारी गरिरहेको उनको आरोप छ। यशोधरा गाउँपालिका–१ तितिर्खीका किसान दिपेन्द्र चौधरीले धान खेतमा तत्कालै मल छर्नुपर्ने भए पनि कतै नपाएको बताए।
जिल्लाका १० स्थानीय तहका कृषि सहकारीमार्फत आलोपालो मल बिक्रीको व्यवस्था छ। तौलिहवा र बहादुरगञ्जका कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङमार्फत साढे तीन सयभन्दा बढी सहकारीलाई मल उपलब्ध गराइन्छ। मल अभावले दक्षिणी भेगका किसान भारतबाट लुकिछिपी मल ल्याउन बाध्य छन्। प्रहरीको कडाइले त्यो पनि कठिन भएको छ। उत्तरी भेगका किसान युरिया अभावले बढी समस्यामा छन्।
नेपाल किसान सङ्घ कपिलवस्तुका जिल्ला सचिव बालगोविन्द त्रिपाठीले किसानले समयमा मल नपाउँदा ठूलो समस्या भोग्नुपरेको बताए। मलको सहज आपूर्तिका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको माग छ। कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार जिल्लामा करिब ६५ हजार हेक्टरमा धान खेती छ। ९० प्रतिशतभन्दा बढीमा रोपाइँ सकिएको छ। ज्ञान केन्द्रका प्रमुख चौधरीले धान र अन्य बालीका लागि आवश्यक पर्ने परिमाणभन्दा निकै कम मल उपलब्ध रहेको बताए।
