जनकपुरको मुटुमा रहेको बाह्रबिघा मैदान जुवाडे र लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ। दैनिक ठूलो संख्यामा युवादेखि प्रौढसम्मका व्यक्तिहरू यहाँ भेला भएर जुवातास र लागूऔषध सेवनमा व्यस्त हुने गरेका छन्।
स्थानीयका अनुसार हरेक दिन बिहान ११ बजेदेखि नै जुवाडे र लागूऔषध प्रयोगकर्ता बाह्रबिघामा जम्मा हुने गर्छन्। पानी परेको दिनबाहेक प्रायः सबै दिन यहाँ तास खेल्नेको भीड लाग्ने गरेको चटपटे व्यापारी विजय गुप्ताले बताए। उनले सार्वजनिकस्थलमा खुलेआम जुवातास खेल्दा पनि प्रहरी प्रशासन मौन बस्नुले उनीहरूको मनोबल झनै बढेको गुनासो गरे।
प्रहरीले कहिलेकाहीँ गस्ती गरे पनि खुला मैदान भएकाले टाढैबाट देख्नासाथ जुवाडेहरू खेल्न बन्द गरेर बस्ने र प्रहरी फर्केपछि पुनः खेल सुरु गर्ने गरेको स्थानीयको अनुभव छ। कहिलेकाहीँ जुवा खेलिरहेको अवस्थामा फेला परे पनि प्रहरीले तास च्यातेर पठाउने र थप कारबाही नगर्ने गरेकाले उनीहरूको मनोबल बढिरहेको छ।
जनकपुर-११ का रामसागर कुशवाहाले दिनदहाडै जुवातास खेलिरहेको देख्दा प्रशासनको मौनले विभिन्न आशंका उब्जाएको बताए। उनले बाटोबाट हिँड्ने विद्यार्थी र युवाहरूले दैनिक यस्तो दृश्य देख्दा उनीहरूमा नकारात्मक प्रभाव पर्ने चिन्ता व्यक्त गरे।
यो मैदान जुवाडेहरूको मात्र नभई पछिल्लो समय लागूऔषध सेवनकर्ताको पनि मुख्य अड्डा बनेको छ। युवादेखि वृद्धसम्मका व्यक्तिहरू यहाँ गाँजा, चरेश, अफिम र इन्जेक्सनबाट लिइने लागूऔषध सेवन गर्न आउने गरेका छन्। उनीहरू मैदानका कुनाकाप्चा प्रयोग गरी दिनभरि अर्धचेत अवस्थामा रहने गर्छन्।
नगरपालिकाले सर्वसाधारणका लागि शौचालय निर्माण सुरु गरेको भए पनि त्यो अलपत्र अवस्थामा छोडिएको छ। यो अधुरो भवन अहिले लागूऔषध सेवनकर्ताको मुख्य आश्रयस्थल बनेको छ। राति अबेरसम्म युवाहरू यहाँ बसेर लागूऔषध सेवन गर्ने गरेको र चारैतिरको फोहरले बाटो हिँड्ने यात्रुहरूलाई नाक थुन्न बाध्य भएको ठेला व्यापारी रामसोगारथ साहले बताए।
मैदान युवा–युवतीको जोडीका लागि पनि अनैतिक क्रियाकलापको स्थल बनेको छ। स्थानीयका अनुसार कतिपय जोडी राति १०/११ बजेसम्म पनि मैदानमा देखिने गरेका छन्।
जनकपुर-९ का वडाध्यक्ष परमेश्वर साहले बाह्रबिघामा अनैतिक क्रियाकलाप हुने गरेको जानकारी आफूले पाएको र यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी कार्यालयमा बारम्बार जानकारी गराउने गरेको बताए। उनले मैदानको संरक्षण नहुँदा यस्ता गतिविधि बढेको र यसलाई नियन्त्रण गर्न प्रहरी, प्रशासन, नागरिक समाज र बुद्धिजीवी एकजुट हुनुपर्नेमा जोड दिए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेले बाह्रबिघामा हुने गतिविधि नियन्त्रणका लागि दैनिक दिउँसो र राति गस्ती टोली खटाउने गरेको बताए। उनले प्रायः लागुऔषध सेवनकर्ता र यौन गतिविधिमा संलग्नलाई पक्राउ गरेर ल्याउने गरेको र फोहरले भरिएको ठाउँमा हुने क्रियाकलाप पनि फोहरी नै हुने भएकाले गस्ती थप बढाउने प्रतिबद्धता जनाए।
बाह्रबिघा मैदानको संरक्षणमा जनकपुर नगरपालिका र बृहत्तर क्षेत्र विकास समितिको स्वामित्वको विवाद लम्बिँदा यो ऐतिहासिक स्थल डम्पिङ साइटजस्तै बनेको छ।
