सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा साउन १० गते राति दुई समुदायका युवाबीचको विवादले झडपको रूप लिएको छ। राति ८ बजे सुरु भएको झडप १०:३० बजेसम्म उग्र बनेपछि इलाका प्रहरी कार्यालय देवानगन्जको टोली पुगेको थियो। प्रहरीले नियन्त्रण गर्न नसकेपछि सशस्त्र प्रहरी परिचालन गरियो। सोही क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट आठ सर्वसाधारण घाइते भए।
घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको राति ११ बजे मृत्यु भयो। यस घटनापछि भोलिपल्ट बिहान ७ बजे देवानगन्ज र हरिनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरियो। कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि जिल्ला सुरक्षा समितिले सेना परिचालनको निर्णय गर्यो।
देवानगन्ज घटनाको प्रभाव हरिनगर, कोसी, भोक्राहा नरसिंह र इनरुवा क्षेत्रमा पनि देखियो। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सर्वदलीय बैठक बोलाएर सद्भाव कायम गर्न अपिल गरे। गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
गृह मन्त्रालयले प्रजिअ वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएर नयाँ जिम्मेवारी तोक्यो। राति ९ बजे इनरुवा–३ र ६ को राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश थपियो। भोलिपल्ट बिहान ७ देखि साँझ ७ बजेसम्म हरिनगर र देवानगन्ज क्षेत्रमा कर्फ्यु जारी रह्यो।
यसैबीच, दुहवीमा हिन्दु र मुस्लिम समुदायले संयुक्त सद्भाव र्याली निकाले। तर, देवानगन्ज–२ मा मुस्लिम समुदायका चार पसलमा आगजनी भयो। प्रदर्शनकारीतर्फका सञ्जय यादवमाथि अर्को समूहले आक्रमण गर्यो। प्रजिअसहितको टोलीले मृतक र घाइतेका घरमा पुगेर भेटघाट गर्यो।
भोक्राहा नरसिंह क्षेत्रमा हिन्दु र मुस्लिम युवाबीच झडप भयो। राति ९ बजे सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरियो। देवानगन्ज–२ मा भएको झडपमा ४८ वर्षीय रिजमान अन्सारी र ४७ वर्षीय आलम अन्सारी घाइते भए। छानबिन समितिले घटनास्थल कप्तानगन्जमा पुगेर अनुसन्धान र पीडित परिवारसँग भेटघाट गरेको छ। इटहरीमा पनि सद्भाव र्याली प्रदर्शन भयो।
