अविरल वर्षा, पहिरो तथा बाढीले देशभरका प्रमुख राजमार्ग ठप्प पारेको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७:५० बजेसम्म केही सडक पूर्ण रूपमा अवरुद्ध छन्। केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिम छ। बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी रोक्न प्रहरीले निर्देशन दिएको छ। कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।
इलामको मेची राजमार्ग वर्षाले हिलाम्मे भएपछि पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले सडक अवरुद्ध छ।
दोलखाको लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोसी खोलाले सडक कटान गरेको छ। रसुवाको पासाङल्हामु सडक खण्डमा त्रिशूली नदीले सडक कटान गरेको छ। ललितपुरको कान्ति लोकपथमा सुक्खा पहिरो खसेको छ। जाजरकोट–डोल्पा सडकको मूलपानीखोला बाढीले सडक कटान गरेको छ।
प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन यात्रुहरूलाई अनुरोध गरेको छ।
