सिरहाको गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले समितिको नेतृत्व गर्नेछन्। प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्। समितिले घटनाको कारण, संलग्न पक्ष र प्रहरीको भूमिकाबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
यसैबीच, सुनसरीको देवानगञ्ज घटनाबारे मधेसवादी दलहरूले निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्भाव कायम गर्नुपर्ने माग गरेका छन्। जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत लगायतका नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री बालेन शाहले नागरिकलाई सम्बोधन गरी आश्वस्त पार्नुपर्ने माग गरेका छन्। मृतकलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी लिनुपर्ने उनीहरूको माग छ। विज्ञप्तिमा घटनामा बाह्य तत्वको संलग्नताको विषयमा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने उल्लेख छ। दमनमा संलग्न प्रहरी तथा प्रशासनिक अधिकारीलाई निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ। सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरिएको छ।
