सप्तरीमा हालै घटेको दुःखद घटनापछि प्रदेशभर सामाजिक सद्भाव र शान्ति कायम राख्न ६ वटा राजनीतिक दलहरूले संयुक्त अपिल गरेका छन्। कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टीका जिल्लास्तरीय नेताहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै धर्म र समुदायका नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेका हुन्।
विज्ञप्तिमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्पतानगंजमा गोली लागि ज्यान गुमाएका ओम प्रकाश मेहता, जय प्रकाश मेहता तथा सिरहा गोलबजारका गणेश यादव लगायत विभिन्न जिल्लामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
यी दलहरूले सुनसरी, सिरहा लगायतका जिल्लामा भएका अप्रिय घटनाहरूको न्यायिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीहरूमाथि कडा कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेका छन्। उनीहरूले सुरक्षा निकायलाई सङ्कटको समयमा शान्ति सुरक्षा व्यवस्थापनमा गम्भीर र संयमित हुन पनि आग्रह गरेका छन्।
यसैबीच, प्राध्यापक संघ संगठनहरूले पनि विज्ञप्ति जारी गर्दै मतभेदलाई थाती राखी शान्ति कायम गर्न तीनै तहका सरकार, राजनीतिक दल, सञ्चारकर्मी, बुद्धिजीवी र धार्मिक नेताहरूसँग अपिल गरेका छन्। पीडित परिवारलाई उचित क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र तथा शक्तिशाली न्यायिक आयोग गठनको माग पनि उनीहरूले गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पनि सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
