मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउन अभिभावकलाई अपिल गरेका छन् ।
शुक्रबार लिखित अपिल सार्वजनिक गर्दै मन्त्री महतोले बालबालिकाको गतिविधि निगरानी गर्न आह्वान गरे । ‘तपाईंको एउटा निर्णयले सन्तानको भविष्य सुरक्षित गर्न सक्छ,’ उनले भने, ‘कृपया आफ्ना छोराछोरीलाई उक्साहट, अफवाह वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिनुहोस् ।’
क्षणिक आवेगमा गरिएको गल्तीले जीवनभर पछुताउनुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै मन्त्री महतोले भने, ‘तपाईंको संरक्षण, मार्गदर्शन र सचेतताले बालकको भविष्य मात्र होइन, परिवार, समाज र समग्र मधेस प्रदेशको शान्ति, सद्भाव र सामाजिक एकतालाई समेत सुरक्षित राख्छ ।’
उनले शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुन पालनामा सहयोग गर्न अभिभावकलाई आग्रह गरे ।
