साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न ३६ जनालाई प्रहरीले पाँच जिल्लाबाट पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार धनुषाबाट सबैभन्दा बढी १८ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार सिरहाबाट ५ जना, सर्लाहीबाट ८ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जनालाई पक्राउ गरिएको छ। पछिल्ला दिनहरूमा तराई–मधेसका जिल्लामा सद्भावमा असर पार्ने घटना बढेपछि प्रहरीले सामाजिक शान्ति र सुरक्षा कायम गर्न कारबाही तीव्र पारेको छ।
प्रहरीले सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन र कानुनको पालना गर्न नागरिकसँग आग्रह गरेको छ। प्रहरीले ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देश प्रवाह गरेको छ।
