जनकपुरधाममा सुनसरी र सिरहा घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन्। सद्भाव र्याली समापन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले दोषीलाई कारबाहीको माग गर्दै चर्को नाराबाजी गरे। उनीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिए।
प्रदर्शनकारीहरूले पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराए। शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै उनीहरूले प्रशासनलाई गम्भीर हुन आग्रह गरे।
यसअघि जनकपुरधाममा तनावपूर्ण परिस्थितिलाई मत्थर पार्न जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको थियो। सुनसरीमा दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव र निषेधाज्ञाबीच नागरिकहरूमा शान्ति, सद्भाव र एकताको सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको थियो।
सद्भाव र्यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामको पहिचान विभिन्न जातजाति र समुदायबीचको अटुट सद्भाव रहेको बताए। उनले यस ऐतिहासिक विरासतलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गरे। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मिथिला संस्कृतिले सधैँ शान्ति र भाइचाराको सन्देश दिने बताए।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपालका ठुला राजनीतिक र सामाजिक परिवर्तन शान्तिपूर्ण आन्दोलनबाटै सम्भव भएको स्मरण गराए। उनले आन्दोलनरत पक्षलाई आफ्ना मागहरू वार्ता र संवादबाट शान्तिपूर्ण ढङ्गले प्रस्तुत गर्न आग्रह गरे।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले सुनसरीको कप्तानगञ्ज घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबैमा अपिल गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले जारी गरेको अपिलमा नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले उत्सवहरू मनाउँदा एकअर्काको भावनामा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गरिएको छ।
प्रदेश सरकारले कानुन हातमा लिने, सामाजिक सद्भाव भड्काउने वा अराजकता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय सक्रिय रहेको जनाएको छ। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समाजमा उत्तेजना, घृणा र वैमनस्य फैलाउने गरी अफवाह र गलत सूचना प्रवाह गर्ने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
काठमाडौँमा पनि नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ सद्भाव र्याली आयोजना गरेका छन्। तराईका विभिन्न जिल्लामा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बीच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो र्याली निकालिएको हो।
