गृहमन्त्री सुदन गुरुङ र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सम्झौता भएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामा भएको उक्त सम्झौतापछि मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
हिन्दु राष्ट्र कायम गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय बैठक मार्फत प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। मोर्चाले गृहमन्त्रीसमक्ष १३ बुँदे माग पत्र पेश गरेको थियो, जसमा सहमति जुटेको हो।
संयुक्त हिन्दु मोर्चाको माग र सम्झौताका मुख्य बुँदाहरू
सम्झौताका बुँदाहरूमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्न स्पष्ट समयसीमा तोकी तीन महिनाभित्र सर्वदलीय बैठक बोलाउने उल्लेख छ। यसका साथै, जुनसुकै धर्म, सम्प्रदाय वा समुदायले मनाउने चाडपर्व तथा धार्मिक अवसरहरूमा हातहतियार प्रदर्शन गर्ने कार्यलाई नियन्त्रण गर्ने र त्यस्ता कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ।
धार्मिक स्थलहरूमा बाहिरी हर्न (लाउडस्पिकर) को प्रयोग नियन्त्रण गर्ने र आवश्यक धार्मिक गतिविधिका लागि परिसरभित्र मात्र ध्वनि प्रयोग गर्ने व्यवस्था मिलाउने पनि सम्झौतामा समेटिएको छ। मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखिकरण र पहिचान खुलाउने तथा विदेशी नागरिक भए निगरानी गर्ने व्यवस्था मिलाइनेछ।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक, जातीय हिंसा, द्वेष, चरित्र हत्या वा अतिवादी सोच फैलाउने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। सुनसरी देवानगञ्ज घटनापछि आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय लिने र उनीहरूलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्ने सहमति भएको छ।
आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ। धार्मिक आयोगहरूको औचित्य, आवश्यकता र कानुनी आधारहरूको पुनरावलोकन गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा र शान्ति सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्नेछ।
२०६२/२०६३ सालदेखि हालसम्म प्रदान गरिएको नेपाली नागरिकताको सम्बन्धमा छानबिन गरी विदेशी नागरिकहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने पनि सम्झौताको एक बुँदा रहेको छ। मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थाहरूमा विभिन्न फन्डहरूको छानबिन गरी अनुगमन र नियमन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने मागमा पनि सहमति भएको छ।
त्यस्तै, १२ वर्षीय आनन्द दासको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिने विषयमा पनि सम्झौता भएको छ। यस सम्झौतापश्चात् संयुक्त हिन्दु मोर्चाले आन्दोलनका सबै कार्यक्रम आजैको मितिबाट तत्काल स्थगित गरेको छ।
