कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा आज भारी वर्षा हुने सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास छ।
सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली छ। बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाडी भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनेछ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा पनि यस्तै मौसमी अवस्था रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुनेछ।
सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुनेछ। एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिमबारे सतर्क रहन आग्रह गरेको छ। प्रतिकूल मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्नेछ।
