सुनसरी घटनापछि तराई-मधेश क्षेत्रमा बढेको तनाव नियन्त्रण गर्न थप २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यो कदम चालेका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले करिब १ हजार प्रहरी मधेश केन्द्रित गरिएको बताए। ‘गण, तालिम केन्द्र, पहाडी जिल्ला र हेडक्वार्टरबाट प्रहरी तराई झारिएको छ। म आफैं सप्तरी आएको छु,’ काफ्लेले अनलाइनखबरसँग भने।
प्रहरीतर्फ चार एआईजीहरू – सिद्धीविक्रम शाह (बाँके), हिमालय कुमार श्रेष्ठ (मधेश प्रदेश), उमा प्रसाद चतुर्वेदी (कपिलवस्तु), ईशवर कार्की (कोशी प्रदेश र सुनसरी) तराई मधेशमा खटिएका छन्। डीआईजी दिनेश कुमार आचार्य सिरहा र डीआईजी अभिनारायण काफ्ले सप्तरीमा परिचालित छन्।
यसैगरी, एसएसपीहरू गोपालचन्द्र भट्टराई (सर्लाही), सोमेन्द्र सिंह राठौर (पर्सा), दीप शम्शेर जबरा (रौतहट), नवराज अधिकारी (चितवन), कृष्ण प्रसाद पंगेनी (महोत्तरी), होबिन्द्र बोगटी (बारा), ज्ञानेन्द्र प्रसाद फुयाँल (मोरङ), भुवनेश्वर तिवारी (धनुषा) र अमरेन्द्र बहादुर सिंह मधेशमा खटिएका छन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरीबाट पनि करिब १ हजार सुरक्षाकर्मी थप गरी तराई मधेश झारिएको छ। एआईजी गणेश थाडा मगरसहितको टोली खटिएको छ।
यो जनशक्तिलाई तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटना रोक्न फिल्डमा खटाइएको छ। प्रहरीका विभिन्न विभाग र क्षेत्रमा कार्यरत कर्मचारीलाई पनि संकट समाधानका लागि तराई मधेशमा केन्द्रित गरिएको छ।
तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायतका जिल्लामा थप तनावको आशंकामा सतर्कता अपनाइएको छ। स्रोत साधनको परिचालन, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिने उच्च अधिकृतहरू परिचालन गरिएका छन्।
गृहमन्त्री सुदन गुरुङ आफैं तराईमै छन्। प्रहरी प्रवक्ता काफ्लेका अनुसार तराईको माहोल बिस्तारै शान्तिपूर्ण बन्दै गएको छ। कोशी प्रदेशका डीआईजी शेखर खनालले पनि हिजोको तुलनामा आज अवस्था झनै शान्तिपूर्ण रहेको बताए।
