झापामा आर्थिक वर्ष २०८२-८३ मा ६९६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवराज बरालका अनुसार बिर्तामोड नगरपालिकामा ५९८ जना सङ्क्रमित भेटिएका छन्।
दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा छ, हल्दिबारी गाउँपालिकामा पाँच, झापा गाउँपालिकामा दुई र भद्रपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्क्रब टाइफस माइट (किर्ना) को टोकाइबाट सर्ने रोग हो। यसबाट ज्यानै जाने जोखिम हुने बरालले जानकारी दिए।
उच्च ज्वरो, टाउको र शरीर दुख्ने, खोकी, वान्ता, पेट दुख्ने, पखाला, श्वासप्रश्वासमा समस्या तथा टोकेको स्थानमा कालो दाग यसका लक्षण हुन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या हरेक वर्ष बढ्दै छ।
खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा र उपयुक्त जुत्ता लगाउनुपर्छ। शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्नुपर्छ। घर वरपरको वातावरण सफा राख्नुपर्छ।
