विराटनगर महानगरपालिका–७ मा रहेको ‘देबेनरा मुन्दडा निवास’मा सोमबार बिहानै प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी छापा मार्यो। झिसमिसेमै सुरु भएको यो अपरेसन ९ बजे सकिएको थियो।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको कमान्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी, ड्रोन र १० भन्दा बढी प्रहरी गाडीसहितको टोलीले मुन्दडा निवास र कार्यालय घेरा हालेको थियो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले सूचना प्रमाणीकरण नहुँदै ठूलो संख्यामा प्रहरी परिचालन, ड्रोनको प्रयोग र सडक सिल गरेर अपरेसन चलाउनुले नकारात्मक सन्देश गएको बताए।
एसपी कटुवालले सुरुमा एक व्यवसायीको घरमा ठूलो परिमाणमा सुन र नगद रहेको विशेष सूचना आएको जानकारी डीआईजी खनाललाई दिएका थिए। सूचना संवेदनशील भएकोले डीआईजी खनालले एसपीलाई सादा पोसाकमा जान, हल्लाखल्ला नगर्न र कसैलाई अनावश्यक हैरानी नहुने गरी पुष्टि गरेर मात्र अघि बढ्न निर्देशन दिएका थिए।
यत्रो ठूलो तयारीका साथ छापा मारिए पनि केही पनि फेला परेन। नतिजा नआएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको डीआईजी खनालले स्वीकार गरे। उनले भने, ‘त्यो दलबलका साथ आतंकवादीलाई नै घेरा हालेजस्तो, अलिकति चाहिँ त्यति साह्रो नगरेको भए हुन्थ्यो कि… त्यो आवश्यकता थिएन कि भन्ने हामीलाई पनि फिल भयो।’
यो घटनाले देशव्यापी रुपमा उद्योगी व्यवसायीहरू त्रसित भएको भन्दै वक्तव्यबाजी सुरु भएको थियो। डीआईजी खनालले मंगलबार विराटनगरका उद्योगी व्यवसायीहरूसँग छलफल गरी प्रहरीको उद्देश्य व्यवसायीलाई त्रसित बनाउने नभई प्राप्त सूचनाको आधारमा जिम्मेवारी पूरा गर्नु मात्र रहेको र अपरेशनका क्रममा भएका प्रक्रियागत त्रुटिहरू सुधार्ने प्रतिबद्धता व्यक्त गरे। उनले मोरङका प्रहरी प्रमुख कटुवाललाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेका थिए।
प्रकाश मुन्दडाको घरमा अर्बौं नगद, सयौं केजी सुन र ठुलो परिमाणमा हातहतियार रहेको, घरको गेटमा हतियारधारी पहरा दिइने गरेको विषय उजुरीमा थियो। खानतलासीका क्रममा प्रहरीले हरेक कुनाकाप्चा, मसलाको बट्टादेखि पानीको ट्यांकीसमेत खोलेर हेरेको उद्योगीहरूले बताए। डीआईजी खनालले सूचना गलत पर्न सक्ने भए पनि अनुसन्धानको प्रक्रिया व्यवसायिक र मर्यादित हुनुपर्ने बताए।
सुरक्षा अधिकारीहरूका अनुसार प्रधानमन्त्री कार्यालयबाट गृहमन्त्रालय हुँदै प्रहरी प्रमुख मार्फत एसपी कटुवाललाई छापा मार्न निर्देशन आएको थियो। त्यतिबेला ५ सय किलो पहेंलो धातु स्टोर भएको सूचना थियो। ‘५०० केजी जति पहेँलो धातु (सुन) स्टोर भएको छ भन्ने कन्फर्म सूचना माथिबाटै आएको थियो। त्यही भएर हेभी अप्रेशन गरेको हो,’ स्रोतले दाबी गर्यो। पछि सूचना नै फेक भएको पुष्टि भयो।
प्रहरीले गरेको छापा मार्ने शैलीमाथि पनि सुरक्षा अधिकारीहरूले असन्तुष्टि जनाएका छन्। आर्थिक अपराधमा छापा मार्दा भन्सार, राजस्व वा प्रशासनको प्रतिनिधि राख्नुपर्नेमा १० वटा गाडी लिएर बाटो नै सिल गरेर आतंककारी समाते जस्तो गरिएको, जुन प्रक्रियागत रूपमा नमिल्ने उनीहरूको भनाइ छ।
मोरङका प्रहरी प्रमुख कवित कटुवालले प्रहरी कार्यालयमा आएको गोप्य निवेदनकै आधारमा छापा मारेको र सबै अपरेसन सफल नहुन पनि सक्ने बताए। डीआईजी खनालले माथिको आदेशमा छापा मारिएको भन्ने हल्ला मात्र भएको बताए। यद्यपि अन्य सुरक्षा अधिकारीहरू यति ठुलो अपरेसन जिल्लास्तरबाट हुनै नसक्ने र माथिको निर्देशन बिना प्रहरीले यत्तिकै आँट नगर्ने बताउँछन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जारी गरेको विज्ञप्तिमा ‘विशेष सूचनाका आधारमा रीतपूर्वक खानतलासी गर्दा केही फेला नपरेको’ स्वीकार गरिएको छ। पछिल्ला केही महिनामा मोरङ प्रहरीले ‘विशेष सूचना’ कै नाममा मारेका केही प्रतिनिधिमूलक छापाका घटनाहरू असफल सावित भएका छन्। १३ साउनमा अभिषेक गिरीको निवासमा, असार ४ गते प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीकै सरकारी निवासमा र जेठ ५ गते सट्टेबाजीको आशंकामा पक्राउ परेका चार जनालाई प्रहरीले पक्राउ गरी पछि छाडेको थियो।
