सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका संरचनामा क्षति पुगेको छ। बिहान करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फको करिब २००–३०० मिटर अग्लो डाँडाबाट पहिरो खसेको थियो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पहिरोसँगै झरेका ढुङ्गाले सशस्त्र प्रहरीको ब्यारेक, ड्युटी पोस्ट र जिन्सी स्टोर भवनमा क्षति पुर्याएको छ। पहिलो लाइन ब्यारेकको झ्यालको सिसा फुटेको छ। दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेका छन्।
सशस्त्र प्रहरी बल तातोपानी बीओपीका अनुसार घटनामा मानवीय क्षति भएको छैन। राष्ट्रिय झण्डा राखिएको पोल नष्ट भएको छ। सि.अ. (सिनियर अफिसर) को बाथरुमको भित्ता र मुख्य गेट अगाडिको सिँढीमा पनि पहिरोले क्षति पुर्याएको छ।
