NM Khabar 8 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

केजी हस्पिटलमा मिर्गौला शल्यक्रियापछि महिलाको मृत्यु, २२ लाखमा मिलाइयो विवाद

धनगढीको केजी हस्पिटलमा मिर्गौला शल्यक्रियापछि एक महिलाको मृत्यु भएको छ। अस्पताल र मृतकका आफन्तबीच २२ लाख रुपैयाँमा घटना मिलाइएको छ। शल्यक्रियामा संलग्न चिकित्सक छात्रवृत्ति करार अवधिमा निजी अस्पतालमा काम गरेको पाइएको छ।
Kamala Devi
Kamala Devi
8 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
केजी हस्पिटल महिला मृत्यु
Share:

धनगढीको केजी हस्पिटलमा मिर्गौला पत्थरीको शल्यक्रिया गरेकी कृष्णपुर–१, कञ्चनपुरकी ५० वर्षीया समानी चौधरीको मृत्यु भएको छ। शल्यक्रियापछि स्वास्थ्य जटिल बनेपछि उनको निधन भएको हो।

बिहीबार अस्पताल भर्ना भएकी चौधरीको शल्यक्रिया गरिएको थियो। आईसीयूमा राखेको केही घण्टामै उनको मृत्यु भएको थियो।

आफन्तले क्षतिपूर्ति र चिकित्सक कारबाही माग गर्दै शुक्रबार अस्पताल परिसरमा प्रदर्शन गरे। पछि, अस्पताल र आफन्तबीच २२ लाख रुपैयाँमा विवाद टुंग्याइयो।

मृतकका छोरा सुनिल चौधरीलाई २ लाख नगद दिइएको थियो। बाँकी २० लाखका लागि मासिक ५ लाखका दरले किस्तामा भुक्तानी गर्ने गरी चेक हस्तान्तरण गरिएको छ।

आर्थिक लेनदेनमा विवाद टुंगिए पनि शल्यक्रियामा संलग्न चिकित्सकको कार्यविधिमाथि प्रश्न उठेको छ। चौधरीको शल्यक्रिया युुरोलोजिस्ट डा. अरुण पाण्डेको टोलीले गरेको थियो।

डा. पाण्डे सेती प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत छन्। उनको करार अवधि आगामी चैत १६ गते सकिँदैछ। छात्रवृत्ति करार अवधिभर विशेषज्ञ चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने सरकारी नियम छ।

चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार, छात्रवृत्तिमा कार्यरत चिकित्सकले निजी क्षेत्रमा काम गर्न पाउँदैनन्। कार्यविधिको बुँदा १६ (१) (ज) ले सेवा अवधिभर निजी चिकित्सकीय सेवामा रोक लगाएको छ। यस्तो कार्य गरेमा लाइसेन्स निलम्बनसम्मको कारबाही हुन सक्ने व्यवस्था १६(३) मा छ।

केजी हस्पिटल निजी स्वास्थ्य संस्था हो। डा. पाण्डेले सरकारी कानुनविपरीत काम गरेको चौधरीको मृत्युपछि मात्र बाहिर आएको हो।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेले छात्रवृत्ति करार चिकित्सकलाई निजी सेवाको अनुमति नदिएको बताए। उनले यस्ता निवेदन आए पनि सरकारी नियमले नमिल्ने बताए।

स्वीकृतिबिना निजी संस्थामा काम गरेको पाइएमा कारबाही गरिने डा. पाण्डेले बताए। डा. अरुण पाण्डेले फोन उठाएनन्। केजी हस्पिटलका कार्यकारी निर्देशक डा. दीपक सिंहले प्रतिक्रिया दिन अस्वीकार गरे।

केजी हस्पिटल सञ्चालक समितिका अध्यक्ष चेतराज जोशीले डा. पाण्डेको टोलीले शल्यक्रिया गरेको स्वीकारे। तर, डा. पाण्डेलाई कानुनी रूपमा निजी अस्पतालमा शल्यक्रिया गर्न मिल्ने वा नमिल्नेबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ।

स्वास्थ्य कार्यालय कैलालीले यो घटनालाई छानबिनको विषय बनाउने जनाएको छ। कार्यालयका प्रमुख रमेश कुँवरले केजी हस्पिटलले छात्रवृत्ति करार चिकित्सकलाई काम गराएको सूचना प्राप्त भएको बताए।

उनले धनगढीका निजी अस्पताललाई पटकपटक छात्रवृत्ति करार चिकित्सकलाई काम नगराउन निर्देशन दिइएको बताए। केजी हस्पिटलले त्यसको उल्लंघन गरेको पाइएको र आवश्यक कारबाही हुने उनले उल्लेख गरे।

छात्रवृत्ति करार चिकित्सकले निजी अस्पतालमा काम गरेमा स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउनेछन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार