एमाले-नेकपा प्रदेश बाँडफाँट: सिट सङ्ख्या आधार, मन्त्रालय पालैपालो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटसम्बन्धी तीनबुँदे सहमति कार्यान्वयन गर्न संयुक्त निर्देशन जारी गरेका छन्। साउन ९ गतेको सहमतिलाई व्यवहारमा उतार्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका हुन्।
प्रदेश सरकार गठनमा सिट सङ्ख्यालाई मुख्य आधार
जारी निर्देशिका अनुसार, प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा रहेका दलहरूको सिट सङ्ख्यालाई मुख्य आधार मानिनेछ। मन्त्रालयको सङ्ख्या पनि दलहरूको सदस्य सङ्ख्याको अनुपातमा निर्धारण गरिनेछ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समग्र शक्ति सन्तुलनमा गणना गरिनेछ।
मन्त्रालय छनोटमा पालैपालो प्राथमिकता
मन्त्रालय छनोट गर्दा पालैपालो प्राथमिकता दिने प्रणाली अपनाइनेछ। यसअनुसार, पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले रोज्नेछ। दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्नेछ। यसरी नै सबै मन्त्रालयको बाँडफाँड टुङ्ग्याइने सहमति भएको छ।
प्रदेश कमिटीलाई तत्काल बैठकको निर्देशन
यो सहमति कार्यान्वयनका लागि दुवै पार्टीले आ-आफ्नो प्रदेश कमिटीलाई तत्काल बैठक बसी सोही अनुसारको मन्त्रालय बाँडफाँट प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
