चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका ६५ वर्षीय मंगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। मंगलबार बिहान करिब ५ बजेको यो घटनाले स्थानीयमा त्रास फैलाएको छ।
बोटे बिहान सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै मर्निङवाकमा निस्किएका थिए। करिब ५ बजेतिर उनी सम्पर्कविहीन भएपछि बिहान ८ बजे प्रहरीलाई खबर गरिएको थियो।
घटनाको खबर पाउनासाथ प्रहरी घटनास्थलमा खटियो। स्थानीयले उक्त क्षेत्रमा बाघ देखिएको जानकारी दिएपछि प्रहरीले नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्जको टोली र स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी हात्तीको सहयोगमा खोजी सुरु गरेको थियो।
करिब ४ देखि ५ किलोमिटर पूर्वमा रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दिउँसो करिब ४:२० बजे बाघले आक्रमण गरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो।
मृतकको शव मंगले बोटेको भएको उनका छोराले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
