झापाको मुटुमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणले पछिल्लो चार महिनामा ५ जनाको ज्यान लिएको छ। जिल्लामा ९ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्।
संक्रमितहरू मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन्। स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले संक्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेको बताए।
जेई क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। यसले मस्तिष्कमा आक्रमण गर्छ। सुँगुर र हाँस यसका मुख्य स्रोत हुन्। सुँगुर पालन गर्ने र पानी जम्ने क्षेत्र नजिक बस्ने उच्च जोखिममा पर्छन्।
स्वास्थ्य कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले लामखुट्टेको टोकाइबाट बच्न र नियमित खोप कार्यक्रममा सहभागी हुन आग्रह गरे।
