NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशीमा नेकपाले ४ मन्त्रालय पाउने, मन्त्री छनोट प्रदेशलाई

कोशी प्रदेश सरकारमा नेकपाले ४ मन्त्रालय पाउने लगभग सहमति भएको छ। मन्त्री छनोटको जिम्मेवारी प्रदेश कमिटीलाई दिइएको छ। कांग्रेसका मन्त्रीहरू बाहिरिएपछि नेकपा सरकारमा सामेल हुने तयारीमा छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
13 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश सरकार
Share:

कोशी प्रदेश सरकारमा नेकपाले ४ मन्त्रालय पाउने गरी मन्त्री छनोटको जिम्मेवारी प्रदेशकै पार्टी नेताहरूलाई दिएको छ।

प्रदेशको मन्त्री चयनबारे शीर्ष नेताहरूसँग छलफल गर्न काठमाडौँ पुगेको नेकपा कोशी प्रदेशका इन्चार्ज राजेन्द्रकुमार राई र संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो)सहितको टोलीले पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग भेटवार्ता गरेको थियो।

“उहाँहरूसँग भेट भयो। प्रदेशको अवस्थाबारे हामीले ब्रिफिङ गर्यौं। नयाँ पुराना मिलाएर मन्त्री छनोट गर्नुहोला भनेर निर्देशन भएको छ,” प्रदेश संयोजक नेम्वाङले बताए।

काठमाडौँबाट फर्किएको टोलीले प्रदेश इन्चार्ज, संयोजक र दलका नेता बसेर मन्त्री छनोट गर्ने पार्टीको निर्णय रहेको नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै नेकपा सरकारमा सामेल हुने तयारीमा छ। दुई पार्टीबीच ४–४ मन्त्रालय लिने विषयमा सहमति जुटेको आङ्बोले दाबी गरे।

“मुख्यमन्त्रीसहित एमालेले ५ र नेकपाले ४ मन्त्रालय लिने विषयमा करिब सहमति भइसकेको छ,” उनले भने, “एमालेमा नेताहरूसँग परामर्श गर्नुपर्ने भएको कारण केही समय रोकिएको मात्रै हो।”

उनका अनुसार कुन कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन। “त्यो एक पटक बसेपछि टुंगिन्छ,” उनले भने।

कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन्। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग–कृषि र पर्यटन मन्त्रालय खाली भएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार