नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा छ महिनाको स्वास्थ्य उपचारपछि बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उनी सिंगापुर र हङकङमा उपचाररत थिए।
देउवाको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहले विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित कार्यकर्ता भेलाको आयोजना गरेको थियो। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुगेर देउवालाई स्वागत गरेका थिए।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा फागुन १३ गते राति थप उपचारका लागि सिंगापुर गएका थिए।
नेपाली कांग्रेसले निवर्तमान सभापति देउवाले पार्टी र देशमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यससम्बन्धी निर्णय गरेको थियो। बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा देउवाको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको जनाइएको छ।
