बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसलाई नेपाल आयल निगमले कारबाहीको चेतावनी दिएको छ। निगमले आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ।
निगमले बिहीबार सूचना जारी गर्दै असार ३१ गतेदेखि १४.२ किलोग्रामका ग्यास सिलिन्डर पर्याप्त मात्रामा बजारमा बिक्री वितरण भइरहेको जनाएको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात र बिक्री वितरण भइरहेको छ। यद्यपि, आम उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो आइरहेको छ।
निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको छ। यसले आम उपभोक्तालाई ग्यास पाउन समस्या भएको निगमको ठहर छ।
निगमले त्यस्ता व्यावसायिक प्रतिष्ठानहरूमा जम्मा गरिएका सिलिन्डरहरू तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न आग्रह गरेको छ। सूचनाको उल्लङ्घन गरी ग्यास सिलिन्डर गैरकानुनी रूपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने निगमले स्पष्ट पारेको छ।
