काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय तथा अनुसन्धान केन्द्रको शिलान्यास गरेको छ। बुधबार कार्यवाहक मेयर सुनिता डंगोलले परियोजनाको शिलान्यास गरिन्।
कार्यवाहक मेयर डंगोलले प्रत्येक बालबालिकालाई शिक्षा, अवसर र सम्मानजनक जीवनको समान पहुँच हुनुपर्ने बताएकी छन्। यो केन्द्रले अटिजम भएका बालबालिकाको शिक्षा र सीप विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
विद्यालय तथा अनुसन्धान केन्द्रले बालबालिकाका साथै उनीहरूका अभिभावकलाई पनि सहयोग गर्नेछ। अभिभावकका लागि तालिम, अनुसन्धान र सहयोगी सेवाहरू उपलब्ध गराइनेछ।
९ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना सन् २०२८ को अप्रिल महिनाको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।