काठमाडौं उपत्यकाको पूर्वाधार विकास र सार्वजनिक यातायात सेवा सुधारका लागि ५०० अर्ब रुपैयाँभन्दा बढी लगानीमा ३५ बुँदे महत्वाकांक्षी गुरुयोजना तयार भएको छ। यो योजना कार्यान्वयन भएमा उपत्यकामा मेट्रो रेल, दुई तले सुरुङमार्ग, ठाउँठाउँमा एलिवेटेड रोड, नयाँ पुल र कोरिडोर सुधारजस्ता दर्जनौं ठूला संरचना निर्माण हुनेछन्।
जापानी सहयोग नियोग जाइकाको सहयोगमा पूर्वाधार विकास मन्त्रालयले तयार गरेको यस गुरुयोजनाको अगुवाइ सहसचिव तथा सडक विभागका पूर्व महानिर्देशक सुशीलबाबु ढकालले गरेका छन्। गुरुयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइरहेको छ। यसमा सर्वसाधारणको सुझाव माग्न सार्वजनिक सूचना जारी गर्ने तयारी छ।
गुरुयोजनालाई तीन तहमा विभाजन गरिएको छ: छोटो (सन् २०३२), मध्यम (सन् २०४०) र दीर्घकालीन (सन् २०५०) अवधिका लागि परियोजनाहरू प्रस्ताव गरिएका छन्। यसमा पूर्वाधार विकासका लागि २२ र यातायात सेवा सुधारका लागि १३ गरी कुल ३५ वटा योजना समेटिएका छन्।
यातायात सेवा सुधारका योजनाहरूमा सामूहिक यातायातका लागि सडक तथा पुल निर्माण (भूमिगत सुरुङ, माथिल्लो सडक/पुल विस्तार), ट्राफिक व्यवस्थापन, बस सञ्चालनमा सुधार (बस क्षेत्रको स्तरोन्नति, बसपार्क सुधार) लगायतका विषय समावेश छन्। महाराजगन्जमा अन्डरपास र चाबहिल–गौशालामा दुई तले भूमिगत सुरुङ मार्गको पनि प्रस्ताव गरिएको छ।
यसैगरी, चक्रपथ विस्तार (गौशाला–तिनकुने), नयाँ नदी कोरिडोर (थापाथली–त्रिपुरेश्वर), बागमती नदी किनारको सडक सुधार, विष्णुमती नदी र धोबीखोला लगायतका नदीहरूमा नयाँ पुल निर्माण, बालाजु विष्णुमती नदी कोरिडोर सडक निर्माण जस्ता योजना पनि गुरुयोजनामा छन्। मोटरसाइकलबाट सार्वजनिक यातायाततर्फ मानिसहरूलाई प्रोत्साहित गर्न सार्वजनिक यातायात सेवाको दक्षता र स्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
गुरुयोजना अनुसार, उच्च ट्राफिक माग देखिएको रत्नपार्क–भक्तपुर कोरिडोरमा सन् २०४० सम्ममा मेट्रो प्रणाली अपनाइने अनुमान छ। सहरी क्षेत्रका मुख्य भागहरू भूमिगत संरचनाको रूपमा र अन्य खण्डहरूमा एलिवेटेड संरचना निर्माण गरिनेछ।
अन्य कार्यक्रमहरूमा युटिलिटी करिडोर सञ्जाल स्थापना, ठमेल तथा दरबार क्षेत्रलाई सवारीसाधन निषेधित क्षेत्र बनाउने, साइकलमार्ग निर्माण, आपतकालीन सडक सञ्जाल विकास र अफ–स्ट्रिट पार्किङ व्यवस्थापन जस्ता योजनाहरू छन्।
सन् २०५० सम्ममा ४२ लाख जनसंख्या पुग्ने अनुमान गरिएको काठमाडौं उपत्यकालाई थेग्ने गरी पूर्वाधार र यातायात सेवामा सुधार गर्ने उद्देश्यले यो गुरुयोजना तयार पारिएको मन्त्रालयले जनाएको छ।
