भारतको भोपालमा इन्स्टाग्राम रिलमा फैलिएको झुटो सूचनाका कारण एक १६ वर्षीय किशोरको निर्मम हत्या भएको छ। यो घटनाले सामाजिक सञ्जालमा भाइरल हुने हरेक कुरा सत्य नहुने र बिना अनुसन्धान त्यसलाई पत्याउँदा कस्तो भयानक परिणाम निम्तिन्छ भन्ने देखाएको छ।
बीबीएका विद्यार्थी जोहेब खानले ‘खाडी मुलुकमा मानिसको अण्डकोष करोडौं रुपैयाँमा बिक्छ’ भन्ने झुटो दाबी गर्ने एक इन्स्टाग्राम रिल देखेका थिए। त्यसलाई सत्य मानेर उनले आफूलाई ‘डाक्टर जोहेब’का रुपमा प्रस्तुत गर्दै साथीहरूलाई पनि यसमा विश्वास दिलाए।
पैसा कमाउने लोभमा जोहेब र उनका साथीहरूले एक १६ वर्षीय किशोरलाई एकाान्तमा लगेर हत्या गरे। तर, जब उनीहरूले अङ्ग बेच्ने कुनै ठाउँ वा खरिदकर्ता पाएनन्, तब मात्र उनीहरूलाई इन्स्टाग्राममा देखेको भिडियो पूर्ण रूपमा झुटो रहेको थाहा भयो।
प्रहरीले बालकको शव फेला पारेपछि उनको ट्याटुबाट पहिचान पत्ता लगाएको थियो। त्यसपछि जोहेब र अमिरसहितका अभियुक्तहरूलाई पक्राउ गरिएको छ।
यो घटनाले सिकाउँछ कि सामाजिक सञ्जालमा भाइरल हुने हरेक कुरा सत्य हुँदैन। लाइक, भ्युज र सेयरले झुटलाई सत्यमा बदल्न सक्दैनन्। सामाजिक सञ्जाल अनुसन्धानको भरपर्दो स्रोत होइन। आफ्ना बालबालिका वा साथीभाइले इन्टरनेटमा के हेरिरहेका छन् भन्ने कुरामा ध्यान दिनु र कुनै पनि कुरामा विश्वास गर्नुअघि वा कदम चाल्नुअघि अनुसन्धान गर्नु आवश्यक छ।
