स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी र क्यापिङ हटाएको छ। गत भदौ १० गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले प्रभावित क्षेत्रलाई सरकारले विपद् संकटग्रस्त घोषणा गरेपछि यो निर्णय गरिएको हो।
बोर्डका अनुसार, प्रभावित क्षेत्रका बीमितले तोकिएका स्वास्थ्य संस्थामा उपचार गराउँदा निर्धारित अवधिभर सहभुक्तानी र क्यापिङ लागू हुनेछैन। बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएका वा साथमा नभएका बीमितले पनि सेवा पाउनेछन्। सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउनुपर्नेछ।
यसैबीच, संघीय संसद्का १३१ जना सांसदले तलब कटाएर बाढी पीडितलाई सहयोग गर्ने भएका छन्। सोमबारसम्मको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका सांसदहरूले तलबबाट सहयोग गर्ने गरी संसद् सचिवालयलाई पत्र लेखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि आधा महिनाको तलब सहयोग गर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवास्थित बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। उनले सदरमुकाम धुन्चेमा स्थानीय अधिकारीहरूसँग छलफल गरेका थिए।
