पर्साको नैकाटोला र सबैठवाबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ। नियमित गस्तीमा रहेको टोलीले वीरगञ्ज र पकाहामैनपुर गाउँपालिका क्षेत्रबाट उक्त सामान नियन्त्रणमा लिएको हो।
वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरियो। भारतबाट भन्सार छली ल्याइएका ती सामान छाडेर दुई व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको रु १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ। बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।
