बङ्गालको खाडीको बलियो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) को प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको अनुमान छ। मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। यी प्रदेशका तराई भेगमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहितको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिमको हिमाली भेगमा पनि केही स्थानमा यस्तै मौसमी प्रणालीको प्रभाव रहनेछ। पहाडी र तराई भेगमा पनि मेघगर्जनसहितको वर्षाको सम्भावना छ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा अधिकांश स्थानमा र कोशी, बागमतीका हिमाली भेगमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहितको वर्षा र हिमपात हुनेछ। पहाडी र तराई भेगमा पनि मेघगर्जनसहितको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि अत्यधिक भारी वर्षाको अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले वर्षापछि ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम बढ्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात र उद्धार कार्यमा असर पर्न सक्ने बताइएको छ।
