सरकारले दलित समुदायको आधिकारिक परिभाषा र उनीहरूले प्रयोग गर्ने थर तथा उपथरको विस्तृत सूची राजपत्रमा प्रकाशित गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो विवरण महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको हो।
राजपत्रमा दलित समुदायलाई वर्णाश्रम व्यवस्थाका आधारमा अछुत व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारीलगायत राज्यका समग्र क्षेत्रमा उत्पीडन, अपमान र बहिष्करणमा पारिएका समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम, सीप र कलाका माध्यमबाट राज्य निर्माणमा योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत यसमा समेटिएको छ।
राजपत्रमा दलित समुदायलाई मुख्यतः पहाडी दलित र मधेसी दलित गरी दुई भागमा वर्गीकरण गरिएको छ। पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे समुदायलाई समेटिएको छ।
विश्वकर्मा समुदायमा कामी, लोहार, सुनार, टमटा, गदाल, वड, बर्देवा, रसाइली, विश्वकर्मा, पोर्तेल, दियालीलगायत ३४८ थर सूचीकृत छन्। परियार समुदायमा दमाई, दर्जी, सूचिकार, नगर्ची, तिरुवा, बैज, सुन्दास, परियारलगायत २७१ थर राखिएका छन्। मिजार समुदायमा सार्की, चमार, रोक्का, तोलाङ्गे, भुल, मंगराती, गोतामेलगायत २२९ थर समावेश छन्।
वादी समुदायमा नेपाली, बैकार, भाट, रावल, वैश्य, बादीलगायत ३७ थर तथा गन्धर्व समुदायमा गायन, गायक, कालोपौडेल, मेघनाथ, सुर, रसाइलीलगायत १६ थर सूचीकृत छन्। च्यामे समुदायअन्तर्गत कुचीकार, च्यामेखल, च्यामे र सुइफर तथा पोडे समुदायअन्तर्गत जलारी, जालनधर, देउला, पुजारी र पोडे थर समावेश छन्।
दलित समुदायले प्रयोग गर्ने तर गैरदलित समुदायसँग मिल्ने २१४ थरलाई समेत छुट्टै सूचीकरण गरिएको छ। यसमा खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल, पोखरेललगायत थरहरू समावेश छन्।
मधेसी दलितअन्तर्गत चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग र उराँवलगायत २१ वटा जाति तथा समुदाय समेटिएका छन्।
