राष्ट्रिय सभामा सांसदहरूले लगातारको वर्षाले देशका विभिन्न भागमा पुर्याएको बाढीपहिरोको क्षति र प्रभावितहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको माग गरेका छन्। सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले जनधनको सुरक्षा र भौतिक संरचनाको मर्मतमा जोड दिएका छन्।
नेकपाका सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र मानवीय तथा भौतिक क्षति भएको जानकारी दिइन्। उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरिन्। सडक र पुलको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै उद्धारमा खटिएकाहरूको प्रशंसा गरिन्।
नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले गण्डकी प्रदेशको मनाङमा आएको बाढीपहिरो र मुख्य राजमार्गमा भएको क्षतिको तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरिन्। नजिकिँदै गरेको चाडपर्वका बेला सडक अवरुद्ध हुँदा आपूर्तिमा समस्या आउन सक्ने र महँगी बढ्न सक्ने चिन्ता व्यक्त गर्दै उनले समयमै आवश्यक सहयोग गर्न सरकारसँग आग्रह गरिन्।
जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन माग गरिन्। विपद्का कारण महामारीको जोखिम बढ्न सक्ने भन्दै उनले रसुवाका बाढी प्रभावितलाई समयमै राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम अघि बढाउन आग्रह गरिन्। बजारमा हुन सक्ने महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।
