NM Khabar 30 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागलुङमा बाढीपहिरो: ६१ घरगोठ बगे, १२ को मृत्यु

बागलुङमा असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाले निसीखोला र तमानखोला क्षेत्रलाई बढी प्रभावित पारेको छ। बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। यस विपद्ले ६१ घरगोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ। निसीखोला गाउँपालिकाले मृतकका परिवारलाई रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले राहत वितरण गरेको छ।
Maya Thapa
Maya Thapa
30 September 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
बागलुङ बाढीपहिरो
Share:

बागलुङका निसीखोला र तमानखोला क्षेत्रमा असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाले वितण्डा मच्चाएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार, बाढीपहिरोले ६१ घर र गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ।

यस विपद्मा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ। तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार, दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा पनि क्षति भएको छ। २५६ वटा पशुचौपायको क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन्।

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ११ घर जोखिममा परेका छन्। पहिरोमा चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ। निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिकाका साथै ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुगेको छ।

तमानखोला–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ।

ढोरपाटन–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

गलकोट–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला– १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ।

बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिए।

यसैबीच, बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाभित्र मानवीय तथा भौतिक क्षति पुगेपछि गाउँपालिकाले तत्कालै नगद तथा खाद्यन्न राहत उपलब्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए।

गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो। गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले राहत उपलब्ध गराइएको छ।

पाँच जना मृतकको परिवारलाई रु ५० हजारका दरले नगद राहत उपलब्ध गराइएको थियो। घरमा क्षति भएका २४ परिवारलाई रु ३० हजारका दरले र घरमा आंशिक क्षति भएका २१ परिवारलाई रु १० हजारका दरले सहयोग प्रदान गरिएको छ। निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ। २१ जनाको घर उच्च जोखिममा रहेको छ। चामल तथा त्रिपालसमेत प्रदान गरिएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार