दुबईबाट तेल अभिभ उडिरहेको फ्लाईदुबईको विमानको ककपिटभित्र को-पाइलटले मुख्य पाइलटमाथि चक्कु प्रहार गरेपछि आकाशमै ठूलो संकट उत्पन्न भयो। यो घटनापछि विमानलाई साउदी अरबको तबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ।
बुधबार, सेप्टेम्बर ३०, २०२६ मा फ्लाईदुबईको उडान नम्बर एफजेड १०७३ (बोइङ ७३७ म्याक्स ८) मा यो घटना भएको हो। उडान सुरु भएको करिब साढे दुई घण्टापछि, विमान करिब ३४ हजार फिटको उचाइबाट एक मिनेटभन्दा कम समयमा १७ हजार फिटमा झरेको थियो। विमान तीव्र गतिमा तल झर्दा यात्रुहरूमा त्रास फैलिएको थियो।
विमानले सुरुमा ‘७७००’ (सामान्य आपत्कालीन) र त्यसपछि ‘७५००’ (गैरकानुनी हस्तक्षेप/अपहरण) को आपत्कालीन संकेत पठाएको थियो। इजरायली वायुसेनाले लडाकु विमान परिचालन गर्यो। तर, बाहिरबाट नभई ककपिटभित्रै चालक दलका सदस्यबीच हिंसा सुरु भएको थियो।
ककपिटभित्रको चित्कार सुनेपछि यात्रुहरू र ड्युटीमा नरहेका दुई पाइलटले हस्तक्षेप गरी आक्रमणकारी को-पाइलटलाई नियन्त्रणमा लिएका थिए। भारतीय नागरिक क्याप्टेन स्मित माछारमाथि ओमानी को-पाइलटले चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेको आरोप छ। घाइते क्याप्टेनलाई विमानमै रहेका एक दन्त चिकित्सकले प्राथमिक उपचार दिए।
विमान सन्तुलनमा आए पनि मुख्य पाइलट गम्भीर घाइते भएकाले इजरायलतर्फ जान प्राविधिक र सुरक्षा कारणले असम्भव बनेपछि विमानलाई साउदी अरबको तबुकतर्फ मोडियो। बिहान ९:४५ बजे विमान सुरक्षित अवतरण भयो। अवतरणपछि घाइते पाइलट र आक्रमणकारी को-पाइलटलाई अस्पताल पुर्याइयो। विमानमा सवार १७४ यात्रु र बाँकी चालक दलका सदस्य सकुशल छन्।
तेल अभिभ जान हिँडेका करिब १५० देखि १६६ जना इजरायली नागरिक साउदी भूमिमा ओर्लिएपछि कूटनीतिक जटिलता उत्पन्न भयो। इजरायलले आफ्ना नागरिक लिन विमान पठाउने प्रस्ताव गर्यो, तर साउदी अरबले अनुमति दिएन। अन्ततः फ्लाईदुबईले वैकल्पिक विमान पठाएर यात्रुहरूलाई तेल अभिभ पुर्यायो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई ‘अत्यन्त गम्भीर सुरक्षा घटना’ भन्दै यात्रु र चालक दलका सदस्यहरूलाई ‘नायक’ भनेका छन्। रक्षा मन्त्री इजरायल काट्जले यसलाई ‘जिहादी आतंकवादी हमलाको प्रयास’ भनेका छन्। साउदी अधिकारीहरूले को-पाइलटमाथि अनुसन्धान सुरु गरेका छन्।
विमान अत्यधिक गतिमा तल झर्दा पुच्छरमा प्राविधिक क्षति पुगेको छ। ककपिट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) को अध्ययनबाट आक्रमणको वास्तविक मनसाय, हतियारको प्रयोग र घटनाको क्रमबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।
