ताजा अपडेट: दसैंअघि नै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका पुल सञ्चालनमा आउने
गण्डकी प्रदेशमा बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर दुई सातादेखि अवरुद्ध बनेका छन्। यसबाट प्रदेशका विभिन्न जिल्लामा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले पर्वत-बागलुङ जोड्ने मालढुङ्गा पुल र म्याग्दी खण्डको पोखरेबगर पुलमा क्षति पुर्याएपछि दुवै सडकमार्गमा सिधा यातायात सेवा बन्द छ। चाडबाड नजिकिँदै गर्दा मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।
धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार मालढुङ्गा पुलको पहुँच मार्ग बाढीले बगाएपछि बागलुङबाट पश्चिम डोल्पासम्मको यातायात सेवा ठप्प भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्मको बस सेवा पनि बन्द भएको छ।
सडक डिभिजन कार्यालय, पोखराका प्रमुख कृष्णराज अधिकारीले अबको चार/पाँच दिनभित्रमा मालढुङ्गाको पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका छन्। दसैँअगावै पुल मर्मत सम्पन्न हुने लक्ष्य राखिएको छ। पुल मर्मतका लागि ‘ग्याबिन’ र ‘जियोब्याग’ प्रविधि प्रयोग भइरहेको छ।
यसैगरी, कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर पुलमा पनि बाढीले क्षति पुर्याएको छ। यसले मुस्ताङ जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार आगामी सोमबारसम्म पोखरेबगर पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
सडक अवरुद्ध हुँदा मुस्ताङमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ भने नेपाल–चीन कोरला नाकासँग जोडिएको उक्त सडक बन्द हुँदा सीमापार व्यापार पनि प्रभावित भएको छ। चीनबाट नेपाल भित्रिएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन्।
सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए। तारा र समिट एयरले दैनिक पाँच/पाँच वटा उडान गर्दै आएकामा अहिले सात/सात वटासम्म उडान गरिरहेका छन्।
गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यसपालीको विपद्ले बेनी–जोमसोम–कोरला सडक आयोजनामा हालसम्मकै ठूलो क्षति पुर्याएको छ, जसको पुनर्निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान सडक विभागले गरेको छ।
