विश्वका धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले नेपालमा २० अर्ब रुपैयाँ लगानी गर्ने योजना छाडेको छ। सिमराको विशेष आर्थिक क्षेत्रमा ८० बिघा जग्गा पाउन नसकेपछि कम्पनी निराश भएर फर्किएको हो।
रिलायन्सले विशेष आर्थिक क्षेत्र सिमरामा गुजरात मोडलमा इन्डस्ट्रियल भिलेज बनाउने प्रस्तावसहित नेपाल आएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले समेत जग्गाको सुनिश्चितता गर्न नसकेपछि कम्पनीले लगानीको योजना रद्द गरेको हो।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार, सिमरा सेजको कुल ८३३ बिघा जग्गामध्ये ४९० बिघा अतिक्रमणमा परेको छ। हाल ३४३ बिघा मात्र प्राधिकरणको भोगचलनमा रहेको छ। अतिक्रमित जग्गामा करिब ६०० घरटहरा निर्माण भएका छन्।
रिलायन्सका अधिकारीहरू पूर्व प्रधानमन्त्री केपी ओली सरकारकै पालामा लगानीको प्रस्ताव लिएर नेपाल आएका थिए। त्यसपछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग पनि धेरै पटक भेट गरेका थिए।
संघीय सरकारले सिमरा सेजभित्रको अतिक्रमित करिब ५०० बिघा सरकारी जग्गा खाली गराउन जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र पठाउँदै तत्काल अतिक्रमण हटाउन आग्रह गरेको थियो। तर, प्राधिकरणका पटक-पटकका प्रयासहरू सफल हुन सकेका छैनन्।
बारा जिल्लामा अवस्थित सिमरा सेजमा रिलायन्सको लगानी नआउँदा मधेश प्रदेशमा औद्योगिक विकास र रोजगारी सिर्जनाको महत्वपूर्ण अवसर गुमेको छ। जग्गाको उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार र नीतिगत जटिलताहरू नेपालमा विदेशी लगानी आकर्षित गर्न प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
