राष्ट्रिय सूचना आयोग प्रमुख सूचना आयुक्त र सूचना आयुक्तविहीन भएको चार महिनाभन्दा बढी भइसकेको छ। २०८३ साउन २२ गते दरखास्त आह्वान गरिए पनि पदाधिकारी नियुक्त हुन नसक्दा नागरिकको सूचना प्राप्त गर्ने संवैधानिक हक कुण्ठित भएको छ।
आयोगमा एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्त गरी तीन पदाधिकारी रहने व्यवस्था छ। पदाधिकारी नहुँदा पुनरावेदन र उजुरी सुनुवाइको प्रक्रिया रोकिएको आयोगका एक कर्मचारीले बताए।
पृष्ठभूमि
- राष्ट्रिय सूचना आयोग गत फागुन २१ गते नयाँ सरकार बनेसँगै पदाधिकारीविहीन बनेको हो।
आयोग निष्क्रिय हुँदा सूचनाको हकमा असर
सूचनाको हकका विज्ञहरूले राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन हुँदा नागरिकको सूचना पाउने अधिकारमा बाधा पुगेको बताएका छन्। समावेशी आयोगका पूर्वअध्यक्ष एवं कानुनविद् डा. रामकृष्ण तिमिल्सिनाले लोकतान्त्रिक शासनमा सूचनाको हक एक महत्वपूर्ण अधिकार भएकाले आयोगलाई लामो समयसम्म नेतृत्वविहीन तुल्याउनु उचित नहुने बताए।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०८३ असोज २२ र २३ गते जनकपुरधाममा बसेको पाँचौँ पूर्ण बैठकबाट जारी घोषणापत्रले सरकारले सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखेर सूचनाको हक नै निलम्बनमा राखेको ठहर गरेको छ। घोषणापत्रमा महासंघले नागरिकको सूचनाको हकलाई अवरोध नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सिफारिस समितिले प्रक्रिया टुङ्ग्यायो, नियुक्तिमा ढिलाइ
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साल साउन २२ गते दरखास्त आह्वान गरिएको थियो। साउन २८ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकिएकोमा प्रमुख आयुक्तका लागि १६ जना र आयुक्तका लागि २९ जनाले आवेदन दिएका थिए।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना सदस्य र नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा सदस्य रहेको सिफारिस समितिले प्रक्रिया टुङ्ग्याइसकेको छ। तर, दरखास्त आह्वान भएको चार महिनाभन्दा बढी भइसक्दा पनि पदपूर्ति हुन सकेको छैन।
पुनरावेदन र न्यायमा असर
नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दका अनुसार, आयोगमा पदाधिकारी नहुँदा निर्णय प्रक्रिया, आदेश जारी गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने काम प्रभावित भएको छ। उनले सूचनाको हकका अभियन्ता र सूचना माग गर्ने नागरिक अन्योलमा परेको जनाएका छन्।
सूचनाको हकका विज्ञ तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले आयोग निष्क्रिय रहँदा नागरिकले न्याय खोज्ने संयन्त्र प्रभावित भएको बताए। उनले पदाधिकारीको नियुक्ति सरकारको उच्च प्राथमिकतामा पर्नुपर्ने र यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा जोड दिए।
नियुक्ति प्रक्रिया अगाडि बढेको मन्त्रालयको भनाइ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव विष्णुप्रसाद कोइरालाले पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढीरहेको र निर्णय हुने ठाउँमा पुगेको बताएका छन्।