प्रतिनिधिसभाको मंगलबारको बैठकमा मधेशमा बढ्दो असन्तुष्टि र संसदीय परम्पराको पालना नभएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्, जसक्रममा अर्थमन्त्रीको अनुपस्थितिका कारण बैठक १५ मिनेटका लागि स्थगित समेत भयो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेश विस्फोटको स्थितिमा रहेको बताएका हुन्। बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सरकारप्रति जनतामा असन्तुष्टि बढेको धारणा राखे।
सिंहले मधेशमा सत्ता र कुनै पनि नियुक्तिमा आफ्नो अनुहार नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतामा मधेशलाई उपेक्षा गरिएकोमा आपत्ति जनाए। उनले विस्फोट हुनुअघि नै यसको उपचार खोज्न सरकारलाई आग्रह गरे।
रास्वपाले मधेशबाट सर्वाधिक मत पाए पनि मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गलाई बजेटमा प्राथमिकता नदिएकोमा उनले असन्तुष्टि व्यक्त गरे। नयाँका नाममा सबै परम्परा भत्काउन नमिल्ने उनको भनाइ थियो।
यसैबीच, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले रोस्ट्रममै अडान लिए।
अर्थमन्त्री नआएसम्म आफू नबोल्ने भन्दै राई रोस्ट्रममै उभिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। राईले जसलाई कुरा सुनाउनुपर्ने हो, उही व्यक्ति संसदमा नभएको भन्दै संसदीय थिति र परम्पराको स्मरण गराएका थिए।
सभामुख अर्यालले अर्थमन्त्री आउँदै गरेको जानकारी गराउँदै राईलाई बोल्न आग्रह गरे पनि उनले आफ्नो अडान छाडेनन्। राईले प्रधानमन्त्री र अर्थमन्त्री पनि अनुपस्थित रहने प्रवृत्तिले गम्भीर प्रश्न उब्जाएको बताएका थिए।
१५ मिनेटको स्थगनपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको थियो।
