सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका पीडित साना बचतकर्तालाई आज बचत फिर्ता गरेको हो।
समितिका अनुसार, कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका २१६ जना बचतकर्ताले आज आफ्नो बचत फिर्ता पाएका छन्।
यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको थियो।
समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई प्राथमिकता दिएको जनाएको छ। आगामी दिनमा बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँभन्दा बढी बचत फिर्ता गर्नुपर्ने अवस्था रहेको समितिले उल्लेख गरेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।
कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या १८ हजार रहेको समितिले जनाएको छ।
